अघिल्लो बर्षको तुलनामा यो बर्ष बैदेसिक लगानी ७०% ले बढ्यो । पुरा पढ्नुहोस।
काठमाडौँ
चालु आर्थिक वर्षको ८ महिनामा करिब सवा १४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब साढे ७० प्रतिशतले बढी हो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष आपूर्ति व्यवस्थामा सुधार भएको, बन्द हडतालमा कमी आएको, आर्थिक गतिविधिमा सुधार भएको, इन्धन आपूर्ति बढेको, राजनीतिक वातावरण सुध्रिँदै गएको लगायत कारणले एफडीआई बढेको जानकारहरू बताउँछन् ।
अघिल्लो वर्ष भएको लगानी सम्मेलनमा करिब साढे १४ खर्ब रुपैयाँको प्रतिबद्धता आएको थियो । वास्तविक रूपमा भित्रिएको रकमको आधारमा पनि गत आर्थिक वर्षमा लगानीकर्ताको आत्मविश्वासमा सुधार भएको देखिन्छ ।
पछिल्ला वर्षहरूमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीतिहरू बनेको, राजनीतिक दल तथा नेताहरूबाट आर्थिक विकासको प्रतिबद्धता आएको लगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ ।
एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको, स्थिर सरकार गठनका लागि वातावरण बनेको लगायत कारण लामो समयदेखिको राजनीतिक संक्रमण अन्त्य हुने देखिएको छ । यस्तो अवस्थामा मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने अर्थविद्हरू बताउँछन् । मुलुकमा लगानीको वातावरण सुध्रिँदै गएपछि लगानीकर्ताको आत्मबल बढेकाले विदेशी लगानी उल्लेख्य रूपमा बढेको उनीहरूको भनाइ छ ।

No comments:
Post a Comment