यौन उत्तेजित हुन थालेपछि लिंगका धमनीबाट बढी मात्रामा रगत लिंगमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिंग कडा, मोटो तथा लामो हुन्छ । यसलाई नै हामी लिंग उत्तेजित भएको भन्छौं ।
चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभै यौनसम्पर्क राम्रोसँग राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै समयमा गरेकै हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा कायम राख्न नसकिने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ ।
हामीले इन्द्रियहरूबाट सन्देश ग्रहण गर्छौं । त्यो मस्तिष्कसम्म पुग्छ र चेतन रूपमा हामीले उक्त कुरा थाहा पाउँछौं । यौनसम्बन्धी कुरा पनि यसैगरी हाम्रो मस्तिष्कसम्म विभिन्न तरिकाले पुग्छ । विभिन्न अंग (स्रोत) बाट, सन्देशहरू स्नायुप्रणालीका नसाबाट, विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा पाउँछौं । यौन उत्तेजना हुने किसिमका सन्देश प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ । व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक–फरक हुन सक्छ ।
राम्रोसँग लिंग उत्तेजित नहुने कारण शारीरीक तथा मानसिक दुवै हुन सक्छन् । लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अंग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित गर्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या सिर्जना गर्न सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसका कारण हुन सक्छन् । पार्किन्सन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि यस्तो गराउन सक्छ । सार्है थकाइ लागेका बेला होस् वा अधिक मादक पदार्थ सेवन गरेकाले होस्, लिंग उत्तेजनामा नकारात्मक असर पारेको हुन सक्छ ।
त्यसै गरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनु जस्ता कुरा पनि लिंग उत्तेजित नहुने कारण हुन सक्छन् ।
कतिपय पुरुषमाथि आफ्नो यौन क्षमता प्रदशित गर्नुपर्ने दबाब हुन सक्छ । त्यस्तो भए समस्या अझ चर्को हुनसक्छ । यस्तो स्थितिलाई peformance anxiety भनिन्छ । यहाँ आफ्नो तनाव, चिन्ता वा भय कम गर्न सक्नुपर्छ ।
आत्मविश्वास बढाउने कार्यतिर लाग्नुपर्छ । श्रीमतीसँग लिंग उत्तेजित हुने गरी यौनसम्पर्करहित यौनक्रियाकलापमा पर्याप्त समय बिताए सहयोग पुग्न सक्छ । दुवैले यसलाई आफ्नै समस्या मानेर समाधान गर्ने प्रतिबद्धताका साथ अघि बढ्नु पर्दछ । समस्या कायमै रहे चिकित्सकसँग सम्पर्क राख्नुपर्छ । यस क्रममा के कुरा पनि बुझ्नुपर्छ भने–उमेर बढ्दै गएपछि लिंगको उत्तेजनामा कमी आउनु स्वभाविक हो ।
Performance anxiety अर्थात् कार्य सम्पादनको चिन्ता
जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ, बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता मै र्हास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या सिर्जना हुन थाल्छ । यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिन भनेर (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनको भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कहिलेकाहीं औषधी समेत सेवन गर्नुपर्ने हुन्छ ।
महत्त्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रेमपूर्ण सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई नै रमाइलो राख्न के गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ । यसमा आफ्नी श्रीमती वा यौनसाथीको सहयोग तथा समझदारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । श्रीमती वा यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत मिल्छ ।
Source :-www.younkakura.com

No comments:
Post a Comment