ठुलालाई ठिक पार्ने हो, साना आफै ठीकमा आइहाल्छन।उद्योग,तथा वाणिज्य मंत्री मात्रिका यादब - merodesh
Loading...
Loading...

Sunday, April 1, 2018

ठुलालाई ठिक पार्ने हो, साना आफै ठीकमा आइहाल्छन।उद्योग,तथा वाणिज्य मंत्री मात्रिका यादब

ठुलालाई ठिक पार्ने हो, साना आफै ठीकमा आइहाल्छन।उद्योग,तथा वाणिज्य मंत्री मात्रिका यादब 


माओवादी नेता मातृकाप्रसाद यादव मन्त्री हुनासाथ धेरैले एलडीओलाई शौचालयमा थुनेको सम्झिए । उनको यो कामलाई कतिले पदीय मर्यादा विपरितको काम भने त कतिले मन्त्रीको ‘एक्सन’ माने । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग बाझाबाझ गर्दै राजीनामा दिने मन्त्री पनि उनै हुन् ।

तिनै मातृका यादव केपी ओली नेतृत्वको सरकारमा मन्त्री भएपछि अहिले पनि धेरैको चासो छ, उनी के गर्दैछन् ?

शनिबार विहान पुल्चोकस्थित मन्त्री क्वार्टरमा भेटिएका उद्योगमन्त्री यादव केही फेरिएको देखिए । फेरिएको यसअर्थमा कि उनी अब पहिला जस्ता राजीनामा दिएर हिँड्ने वाला छैनन् । भन्छन्, ‘पार्टी र प्रधानमन्त्रीले आदेश दिए बेग्लै कुरा भयो तर, म आफ्नो इच्छाले छाड्दिनँ । लड्ने हो, भिड्ने हो, तर नछाड्ने ।’

तर, उनले आफ्नो कार्यशैली फरेका भने छैनन् । भन्छन्, ‘अब गडबड गर्नेहरू, सतर्क हुनुपर्छ ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादवसँग अनलाइखबरकर्मी सुवास भट्टले गरेको कुराकानीः

मातृका यादवलाई अहिले पनि धेरैले एलडीओलाई शौचालयमा थुन्ने मन्त्री भनेर चिन्छन् । यद्यपि तपाई अहिले समेत गरी चार पटक मन्त्री भइसक्नुभयो । यसअघि मन्त्री हुँदा र अहिले मन्त्री हुँदा के फरक पाउनु भयो ?

हिजो हामी १० वर्षे जनयुद्धको पृष्ठभूमिबाट आएका हौं । हिजोका दिनमा आमूल परिवर्तन गर्ने उद्देश्य थियो र, क्रान्तिका कुरा गरेका थियौं । त्यही सोचअनुसार लाग्यौं । म जेलमा हुँदा बाहिर पनि त्यही चिज होला भन्ने सोचेको थिएँ, तर त्यस्तो थिएन । म त्यही सोचमा हिँड्न खोजें, त्यहाँ टकराव भयो ।

हाम्रो पार्टीका अध्यक्ष प्रचण्डको नेतृत्वमा अघिल्लो सरकारले लोडसेडिङको अन्त्य गर्‍यो, विकास निर्माणका गतिविधिसँगै आर्थिक समृद्धिले पनि एउटा लय समात्न सफल भयो । त्यसले पनि गर्दा हुने रहेछ भन्ने अवस्था देखाएको छ ।

मुलुकमा द्वन्द्व व्यवस्थापन भइसकेको छ । अहिले चुनाव लगायतका कुरा सकिएर, संविधान कार्यान्वयनको चरणमा हामी छौं । पछिल्लो समय वाम गठबन्धनको घोषणापत्र लिएर हामी जनतामा गयौं, जनताले भनेअनुसारकै दिएको छ । काम गर्ने वातावरण र त्यसको जनादेश जनताबाट हामीले पाएका छौं । विगतमा हाम्रो पार्टी ठूलो भए पनि अहिलेकोजस्तो जनादेश प्राप्त भएको थिएन ।

दुई तिहाइ बढीको समर्थनमा सरकार बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई म जतिपटक भेट्छु, उत्साहित हुन्छु । उहाँ अब विकास नै गर्ने हो भन्नुहुन्छ । अर्को, प्रधानमन्त्री र हाम्रा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाइरहनुभएको छ । हाम्रो नारा नै पनि सुशासनमै केन्दि्रत छ।

सरकारको संस्थागत चरित्र, कर्मचारीको प्रवृत्ति लगायतमा चाहिँ केही फरक पाउनुभो ?

तात्विक रुपमा फरक छैन । कोही त हामी आइसकेपछि सोच्न पनि बाध्य भएका छन् । हामीले खासै ‘एक्सन’ नलिए पनि फरक वातावरण बनेको छ, पूर्ववर्ती समयमा भन्दा ।

तर, दशकौंदेखिको एउटा मानसिकता छ-आफ्ना लागि मात्रै गर्ने । यसको लामो ‘स्कुलिङ’ भयो, त्यहीअनुसारको आचरण र बानी ब्यहोरा विकास भयो । एउटा पुरातन प्रणालीलाई बदल्ने गरी नयाँ ढंगबाट अघि बढिरहेका छौं । हमेसी नयाँ विषयलाई आत्मसात गर्न गाह्रो हुँदोरहेछ ।

अरुसँग धेरै अपेक्षा गर्ने तर, त्यही आफूले गर्नुपर्‍यो भने निकै कष्ट हुने हाम्रो प्रवृत्ति छ । आफूलाई बदल्ने कुरा निकै जटिल हुँदो रहेछ । तर, सुरु आफैंबाट गर्नुपर्छ ।

अहिले हामी अनुकुल अवस्थामा छौं । अहिलेको परिस्थिति जनताको ‘म्यान्डेट’ जनताको अनुकुल छ । अब अरुलाई दोष दिएरमात्रै हुँदैन । हामी आफैं डुब्ने हो ।

मन्त्रालयमा कस्तो पाउनुभो ?

अह्राएको भरमा नहुँदो रहेछ । म जाँदा मन्त्रालयमा पानी थिएन, सबैतिर गन्हाइरहेको थियो । शौचालयमासमेत पानी थिएन । १२/१४ घण्टा बसेर काम गर्ने ठाउँमा पानी नै छैन । भन्छु तर, कोही सुन्दैन । भइरहेको छ भन्ने जवाफ आउँछ । कस्सिएर, झर्कीफर्की गरेर के ताल हो भनेपछि मात्र काम हुन्छ ।

बरण्डामा चिमको जाली फुटेको थियो, चराले गुँड लगाएको छ । त्यसले जहिले फोहोर हुन्थ्यो । हामी नेपाली गए त यस्तै छ भनिएला । तर, त्यहाँ त विदेशी पनि आउँछन्, के हुन्छ हाम्रो ? मैले सचिवलाई भनें, उहाँले मेरै अगाडि निर्देशन दिनुभयो । तर, ४/५ दिनसम्म पनि काम भएन । एक दिन आफैं उभिएर काम नगर्नेको हाजिर रोकिदिन्छु भनेपछि भयो । सहसचिव आफैं सिंढीमा चढेर काम गरे ।

भनेपछि सामान्य खटनपटनले नहुने रहेछ ?!

हुँदैन । एउटा चिठी दर्ता गर्नसमेत कति धेरै झण्झट व्यहोर्नुपर्ने अवस्था छ, कामै हुँदैन । आदेशको भरमा त्यो काम हुँदैन । मैले भनेको छु, काम गर्ने साथीहरू बसौं, मिलेर गरौं । होइन, सकिन्न भने भन्नुस् ।

हामीले जनताको कमाइ खाइरहेका छौं । जनता भोकभोकै छ, हामीले मोजमस्ती गर्न मिल्दैन ।

हाम्रो समस्या कहाँ रहेछ ?

हाम्रो चिन्तन गलत छ । चिन्तनअनुसारको ‘भिजन’मा समस्या छ । ‘भिजन’ गलत भएपछि ‘मिसन’ पनि गलत हुन्छ । ‘मिसन’ले ‘एक्सन’ पनि गलत हुन्छ । हिजो पनि त्यही भएको हो । अहिले हामी ‘भिजन’मा प्रष्ट छौं, त्यहीअनुसारको ‘मिसन’ बनाउँदैछौं । ‘मिसन’ पनि प्रष्ट भएपछि ‘एक्सन’ गलत हुँदैन ।

यद्यपि अहिले पनि मेरो इच्छा छ कि कसैलाई परिवर्तन गर्न नपरोस् । यसअघि वनमन्त्री हुँदा पनि मैले मान्छे परिवर्तन गरिनँ । मैले सबैलाई यसरी जाऔं भनेर भनें ।

अहिले पनि मलाई साथीहरूले कुन सचिव लानुहुन्छ भन्दा जुन छ त्यही ठीक छ भनें । अहिले पनि कसैलाई परिवर्तन गर्ने पक्षमा छैन । किनकी ती मान्छे त हिजो जुन परिस्थिति थियो, त्यहीअनुसार चलेको त हो, त्यसमा ऊ मात्र दोषी होइन । त्यस्तो परिस्थिति राजनीतिक नेतृत्वले पनि सृजना गरेको हो ।

यसअघि दुईपटक राजीनामा ठोकेर हिँड्नुभो, यसपटक त त्यस्तो परिस्थिति नआउला नि ?

यसअघि तीन पटक मन्त्री भएँ, दुईपटक राजीनामा दिएर हिँडे । यो पटक जनताको एउटै आग्रह छ- नछाड्नुहोला, गर्नुहोला । मैले जनतासँग जे बोलेको छु, त्यही गर्छु । पार्टी र प्रधानमन्त्रीले आदेश दिए बेग्लै कुरा भयो तर, म आफ्नो इच्छाले त छाड्दिनँ । बरु लड्ने, भिड्ने र चुनौतीको सामना गर्ने हो । तर, नछाड्ने ।

मलाई अहिले के लाग्छ भने क्रान्ति अहिल्यै हुँदैन । तसर्थ मैले आफ्नो सोचमा परिवर्तन गरेको छु । जनताको पक्षमा जे-जे गर्न सकिन्छ, त्यही गर्ने हो, त्यही हो क्रान्ति ।

व्यावसाय डुबेको पिताको छोरा हजारौं उद्यम/व्यवसाय गर्नेहरूको नियमन गर्ने मन्त्रालयको मन्त्री हुनुहुन्छ । उद्यमी/व्यवसायीले तपाईँबाट के आशा गर्ने ?

मेरो बुबाको व्यापारको प्रकृति अलि फरक थियो । त्यो डुबेको छुट्टै विषय हो । तर, हामी व्यावसायी/उद्यमीलाई गरिखाने वातावरण बनाउँछौं । व्यापारीका पनि विभिन्न समस्याहरू छन्, तिनलाई पनि हल गर्नुपर्छ । उद्योगधन्दाको व्यापक विकास गर्नुपर्छ भन्ने हाम्रो मनसाय हो । हामी छलफल गरिरहेका छौं कि मधेस, पहाड र हिमालको कुनै एक-एक वटा जिल्ला छनोट गर्ने र त्यहीँबाट उद्योगधन्दा सुरु गर्ने ।

तपाईंको मिडियाबाटै व्यापारी र जनतामा पनि एउटा सन्देश जाओस्- अब गडबड चाहिं नगरौं । गडबड गर्नेले चाहिं छुट पाउनेवाला छैन, चाहे त्यो कर्मचारी होस्, उद्योगी होस् वा व्यापारी । मैले सबैलाई यही आग्रह गरिरहेको छु ।

कृषिप्रधान मुलुकमा अहिले खराब अवस्था किसानको छ । उखुको मूल्य पाउँदैनन्, मूल्य पाए पनि भुक्तानी पाउँदैनन् । अहिले पनि उखु खेतमा सुकिरहेको छ । त्यसको संरक्षण कसले गर्ने ? उद्योगी/व्यापारीले गर्नुपर्ने हो तर, गर्दैनन् । किसानलाई भुक्तानी देऊ भन्छु, मान्दैनन् । दुई हात जोरेर बिन्ती चढाउँदा पनि मान्दैनन् । हत्कडी लगाउँछु भनेपछि तयार हुन्छन् ।

मेरो आग्रह छ- हामी मैत्री बनौं न ! एकअर्काको मित्र बनौं । सरकार जनता, उद्योगी, व्यापारी, मजदुर सबैको मित्र हुनुपर्छ । हामी शासन गर्न आएको होइन, सेवा गर्न आएको हो ।

के गर्नुहुन्छ त, सरकारी संस्थानहरु धरासायी बनायौं, निजीकरणका नाममा बेचेर खायौं ?

यहाँ ‘कांग्रेसी स्कूल अफ थट्स’ छ । यसको मतलव राष्ट्रिय उद्योगधन्दा बेचेर खाने ।

विदेशमा निजी क्षेत्रलाई दिएपछि अझै राम्रो व्यवस्थापन हुन्छ, उत्पादन हुन्छ भन्ने मान्यता छ । तर, यहाँ त सरकारी सम्पत्ति कौडीको मोलमा बेचेर त्यसलाई ध्वस्त गर्ने प्रवृत्ति चलेको छ । त्यही ‘कन्सेप्ट’का हिमायती मान्छे लन्डनमा पुरस्कार पाउँछ । देशको अर्थतन्त्र डुबाउने ‘सफल अर्थमन्त्री’ भएका छन् ।

म आइसकेपछि नेसनल ट्रेडिङ खारेजीको पत्र आयो ।

तर, हामी केही नयाँ सुरुवात गर्छौं । ताकि त्यसले हाम्रो आवश्यकता पूरा गर्ने मात्र होइन, व्यापार घाटा पनि न्यूनीकरण गर्नेछ । मैले चुनावमा जाँदा नै नारा दिएको छु कि रुग्ण उद्योगधन्दा सञ्चालन गर्छु । त्यसअनुसारकै मन्त्रालय पनि पाएको छु ।

अहिले सार्वजनिक संस्थानलाई कसरी अघि बढाउने, हाम्रा योजना र मोडालिटी के हुने भन्ने आन्तरिक रुपमा छलफल गरिरहेका छौं । आसन्न भारत भ्रमणपछि प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्छौं । हाम्रो बुताले भ्याएसम्म केही रुग्ण संस्थान तुरुन्तै सञ्चालनमा ल्याउनुपर्छ भन्ने पक्षमा म छु ।

बरु पार्टनर खोजेर सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा चलाउन सकिन्छ । अहिले पूरै सरकारी पनि त्यति सफल देखिन्न, निजीको अवस्था पनि राम्रो छैन । नयाँ विकल्पमार्फत् अघि बढ्नुपर्छ । तर, आधारभूत र बहुमूल्य वस्तु तथा सेवा उत्पादन र प्रवाह गर्ने उद्योगमा राज्यले आफ्नो पकड कायम राख्नुपर्छ ।


अब सरकारले सार्वजनिक संस्थान बेचेर खाँदैन । बरु, जुन उद्देश्यले बेचियो, त्यो उद्देश्य पूरा भएको छैन भने फिर्ता ल्याएर राष्ट्रियकरण गर्ने हो ।

बजार अनुगमनका नाममा पनि विकृतिहरु देखिएका छन् । ऐन/कानूनलाई देखाएर उम्किने-उम्काउने परिपाटी मौलाएको छ, तपाईंको पालामा त्यो अन्त्य हुन्छ ?

हाम्रो अनुगमन प्रणाली नै ठीक छैन । ऐन/कानून त दोस्रो विषय हो । सबैभन्दा पहिलो अनुगमनको नियत के हो ? जनतामूखी हो कि आफूमुखी हो, त्यो पहिल्याउनुपर्छ ।

मेरो निष्कर्ष छ, अहिलेको अनुगमन जनतामुखी होइन, अनुगमनकर्ताको ‘इन्ट्रेष्ट’मा हावी भएको छ । अनुगमन गरेपछि दोषी देखिए कारवाही हुनुपर्छ भन्ने मेरो मान्यता छ ।

अनुगमन गर्दैमा दोषी भइहालिन्छ भनेर डराइहाल्नुपर्ने अवस्था छैन । तैपनि यहाँ मान्छेहरू आत्तिएका छन् । दोषी ठहर नभएसम्म संलग्न मान्छेको नाम सार्वजनिक गर्नु ठीक होइन । पत्रकारलाई लिएर, क्यामेरा लिएर हल्ला गर्दै अनुगमन गर्न जाने होइन ।

जहाँसम्म कानुनको कुरा छ, केही नभए पनि सार्वजनिक अपराधमा त थुन्न सकिन्छ नि । कानून छैन भनेर जनता मार्न दिने ? कुनै न कुनै तरिकाले कारवाही गर्न सकिन्छ ।

अब गडबड गर्नेहरू सतर्क हुनुपर्छ । ठूला अपराधीलाई समातेर जेल हाल्न सके, सानाहरू आफैं ठीक ठाउँमा आउँछन् । सानालाई छुने, ठूलालाई नछुने गरिन्न । ठूलाबाट सुरु गर्ने हो ।

अब अनुगमन व्यवस्थित बनाउँछु । असल नियतले अनुगमन गर्नुपर्छ, देश र जनताका पक्षमा गर्नुपर्छ, अनुगमनकर्ताले कमजोरी गरे उमाथि पनि कारवाही गर्नुपर्छ।

स्रोत : अनलाइन खबर 

No comments:

Loading...
loading...