गृहमन्त्रीको अर्को एक्सन :सुन तस्करपछि लागुऔषध कारोबारीको जरै उखेलेर फाल्न निर्देशन।
काठमाडौँ ,
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारवाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालयमा बुधबार लागुऔषध सम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई समान्य रुपमा नहेर्न आग्रह गर्दै गृहमन्त्री बादलले भन्नुभयो,‘लागु औषध नियन्त्रण होईन, निषेध गर्ने गरी कार्ययोजना बनाउनुहोस् । ’
उहाँले लागुऔषधका कारण पारिवारिक सम्बन्ध र समाज नै भताभुंगको अवस्थामा जान लागेको भन्दै यसलाई समयमै नियन्त्रण गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले सुन तस्करको जालोसम्म पुगेर कारवाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुगेर तिनीहरुलाई कारवाहीको दायरमा ल्याउनुहोस् । ’
गृहमन्त्री बादलले लागुऔषध नियन्त्रणसम्बन्धी जागरणमुलक र भण्डाफोर कार्यक्रम ल्याउन पनि निर्देशन दिनुभयो । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मात्रैै यसको नियन्त्रण गर्न सम्भव नभएको भन्दै समग्र नेपाल प्रहरी, अन्य सुरक्षा निकायको पनि यसमा सक्रिय भएर लाग्न निर्देशन दिनुभयो ।
लागुऔषधका भरिया मात्रै होइन, यसका अन्तर्राष्ट्रिय कारोबारी, स्थानीय एजेण्डलाई समेत पक्राउ गर्नेगरी काम अघि बढाउन उहाँले निर्देशन दिनुभयो ।
यस्तै, केही दुव्र्यसनी सुधार केन्द्रले गलत कार्य गरिरहेको रिपोर्ट आएको भन्दै उनिहरुको पनि निगरानी बढाउन उहाँले निर्देशन दिनुभयो ।
छलफलमा गृह सचिव प्रेम कुमार राई, गृहमन्त्रीका सल्लाहकार सूर्यप्रकाश सुवेदी ‘पथिक’ , नेपाल प्रहरीका महानिरीक्षक सवेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मी, नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युराेका प्रमुख प्रहरी नायव महानिरीक्षक ठुले राई लगायतको उपस्थिति रहेको थियो ।
News 24

No comments:
Post a Comment