नेपालमा नाकाबन्दी मैले गरेको हुँ, यसमा मोदीले किन माफी माग्नु पर्ने ? -राजेन्द्र महतो - merodesh
Loading...
Loading...

Saturday, May 12, 2018

नेपालमा नाकाबन्दी मैले गरेको हुँ, यसमा मोदीले किन माफी माग्नु पर्ने ? -राजेन्द्र महतो

नेपालमा नाकाबन्दी मैले गरेको हुँ, यसमा मोदीले किन माफी माग्नु पर्ने ? -राजेन्द्र महतो 

राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले ०७२ सालमा नेपालमा भएको नाकाबन्दी भारतले नभई आफुहरुले लगाएको बताएका छन् । नेपालमा लगाएको नाकाबन्दीबारे भारतले वा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालसम्म माफी नमागेको प्रसंगमा उनले यस्तो बताएका हुन् ।

‘हिजो मधेस आन्दोलन जुन भयो, त्यो आन्दोलनको स्वरुप नाका अवरोध पनि थियो । नाका अवरोध हामीले निर्णय गरेर गरेको हो’ महतोले भने ‘डंकेका चोटमा घोषणा गरेर नाका अवरोध गरेको हो । त्यसैगरी घोषणा गरेरै नाका अवरोध फिर्ता लिएको हो।’

मदेशबादी दलले गरेको आन्दोलनलाई भारतले मात्र नभई दुनियाभरबाट सहयोग भएको उनको भनाई थियो । उनले भने ‘पहाडमा पनि समर्थन भएको थियो । तर नाकाबन्दी हामीले गरेको हो, यसमा मोदीले किन माफी माग्ने ?’

मोदीलाई यो तामझामका साथ अभिनन्दन जरुरी नै हो भन्ने प्रश्नमा उनले पाहुना आउँदा स्वागत सत्कार गर्नु हाम्रो संस्कार संस्कृति भएको बताए ।

मोदीले भनून् – नेपाली मित्रों ! नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ !

काठमाडौं, वैशाख २७ – तीन वर्षअघिसम्म भारतीय प्रधानमन्त्री मोदी सबै नेपालीका मित्र थिए । अहिले उनी नेपालको प्रदेश नं. २ का विशिष्ट मित्र भएका छन् भने धेरै नेपालीका लागि छिमेकको ठालु मात्र भएका छन् ।

नेपालको संविधान आफू अनुकुल बनाउन दिएको दबाब, त्यसपछिको नाकाबन्दी र भुुइँचालोपछिको कहरमा भारतको रुखो व्यवहार ! धेरै नेपालीले मोदीलाई दुःख दिने ठालु ठान्ने कारणहरु पर्याप्त छन् । भारतका उनै प्रधानमन्त्री नरेन्द्र मोदी देशका विशिष्ट पाहुना बनेर नेपाल आउँदैछन् । उनलाई भव्य स्वागत र सम्मान गर्न सरकारले कुनै कञ्जुस्याँई देखाएको छैन ।

मोदीलाई जनकपुरमा चार–चार वटा भाषामा वाचन गरेर नागरिक अभिनन्दन गरिनेछ । नागरिकलाई दुई पैसाको सेवा र सुविधा दिन कञ्जुस मेयरहरु मोदीलाई अभिनन्दन गर्ने प्रतिस्पर्धामा छन् ।

नागरिक अभिनन्दनको पक्ष र विपक्षमा नेपालका संसद, चियापसल, चोकबजार, सरकारी कार्यालय, मन्त्रालय सबै मोदीमय भएका छन् । बाटाघाटा त मोदीकै लागि टालिदैँछ, कालोपत्रे गरिदैछ । यो तयारी हेर्दा सरकार मोदीका पाउमा मात्र हैन, उनी चढेको कारमा पनि धुलो र हिलो नलागोस् भन्ने भक्तिभावका साथ काम गरिरहेको छ ।

एकथरी भन्छन् – नेपालमा नाकाबन्दी लगाएर दुःख दिने मोदीलाई सरकारले स्वागत र सम्मान गरोस्, तर यसलाई नागरिक अभिनन्दन नभनोस् । अर्काथरीको भनाईमा नाकाबन्दीपछि बिग्रिएको दुई देशको सम्बन्ध नागरिक अभिनन्दन गरेर भए पनि सुधार गर्नुपर्छ ।

मोदीलाई दिने भनिएको नागरिक अभिनन्दनको पक्ष र विपक्षमा बहस बढ्दै जाँदा मोदीको भ्रमणमा नेपालले उठाउनुपर्ने विषय ओझेलमा परेको छ । मोदी नेपाल आउँदा नेपाललाई के फाइदा हुन्छ भन्नेबारे सरकारले स्पष्ट बुझाउन नसक्दा सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी मात्र बढेको छ ।

जानकी र मुक्तिनाथ मन्दिरको कुटनीतिक सन्देश मोदीले नाकाबन्दी लगाए, खोले । तर किन लगाए र किन खोले त्यो भनेका छैनन् । त्यसैले नाकाबन्दी गलत थियो पनि भनेका छैनन् । सोझो भाषामा मात्र होइन, घुमाउरो तरिकाले पनि भनेका छैनन् । अहिलेसम्म यस विषयमा केही नबोल्नुको अर्थ हो उनलाई अहिलेसम्म पनि आफूले गरेको नाकाबन्दी ठिक थियो भन्ने लागेको छ । उनी त नाकाबन्दीका कारण आफ्नो बिग्रिएको छवि बनाउन मात्र नेपाल आउँदैछन् ।

मोदीको असफल छिमेक नीतिकै कारण नेपालसहितका देशहरु चीनतर्फ धकेलिए भनेर भारतमा समेत उनको आलोचना भैरहेको छ । अर्को वर्ष हुन लागेको लोकसभा चुनावमा असर पर्ने देखिएपछि भारतमा बिग्रेको छवि उनी नेपालमै आएर प्रतिस्थापित गर्ने प्रयासमा छन् ।

नाकाबन्दीको विपक्षमा दह्रो रुपमा उभिएका ओली नेपालको शक्तिशाली प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई नेपालसँगको सम्बन्ध बढाउन झनै दबाब पर्यो । ओली प्रधानमन्त्रीमा निर्वाचित नहुँदै मोदीले नेपालसँग सम्बन्धको हात बढाए । भारतीय परराष्ट्र मन्त्री सुश्मा स्वराजलाई काठमाडौंमा पठाएर अनि प्रधानमन्त्री हुनासाथ ओलीलाई नयाँदिल्लीमा बोलाएर स्वागत गरे ।

ओली चीन जाने तयारीमा लागेपछि मोदीले एकाएक नेपाल आउने योजना बनाए । कर्णाटकको चुनावको अन्तिम भाषण त्यागेर मोदीले नेपालमा जानकी पूजा गर्ने हतारो गरे । त्यसैले, मोदीको यो भ्रमण सामान्य अवस्थामा अलि असामान्य तरिकाले भैरहेको छ ।

नाकाबन्दीपछि चिसिएको नेपाल र भारतबीचको सम्बन्ध सामान्य स्थितिमा फर्किएको सन्देश दिने मोदीको लक्ष्य हुनसक्छ । तर, सम्बन्ध सुधारको सन्देश दिन नेपाल आउँदा मोदीले मधेसप्रतिको आफ्नो सहानुभूति र चीनलाई नेपालमा आफ्नो प्रभाव कायमै छ भन्ने देखाउन खोजेका छन् । मोदीले जनकपुरमा गर्ने जानकी पूजा उनको आस्था मात्रै हो ।

भारतको प्रधानमन्त्रीका रुपमा उनले तराईको मुद्दामा भारतको अडान यथावत छ भन्ने सन्देश दिन चाहेका छन् । मोटरबाटोबाट सहज रुपमा चीनसित जोडिएको कोरला नाका नजिकको मुक्तिनाथमा उनले गर्ने पूजा पनि देखाउनका लागि मात्रै हो । मुक्तिनाथ मन्दिरमा पुगेर उनले चीनलाई दिन खोजको त नेपालमा आफ्नो प्रभाव कायमै छ भन्ने सन्देश हो ।

मोदीले नाकाबन्दीप्रति आत्मालोचना गर्लान् त ? तीन वर्षअघि भारतले लगाएको नाकाबन्दीको पीडा नेपालीको मनमा अझै ताजा छ । नाकाबन्दीपछि मोदी पहिलोपटक नेपाल आउँदैछन् । उनले अहिलेसम्म नाकाबन्दी लगाएर नेपाल र नेपालीलाई दुःख दिएँ भनेर एक शब्द बोलेका छैनन् ।

नाकाबन्दी सकिएपछि लगत्तै तत्कालीन प्रधानमन्त्रीका रुपमा ओली भारत पुगे । त्यसपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले पनि भारत भ्रमण गरे । भर्खरै ओली प्रधानमन्त्रीको रुपमा दोस्रोपटक भारत पुगे । नाकाबन्दीपछि चारपटक नेपालका प्रधानमन्त्रीसँग दिल्लीमा भारतका प्रधानमन्त्री मोदीले ‘वान टु वान’ कुरा गरे । तर, अहिलेसम्म कतै पनि कसैले पनि नेपाल र भारतका प्रधानमन्त्रीले नाकाबन्दीको प्रसँग निकाले भन्ने पढ्न र सुन्न पाइएन ।

यसपटक भारतका प्रधानमन्त्री नेपाल आउन लाग्दा नेपालीले नाकाबन्दीको पीडालाई चर्को रुपमा उठाएका छन् । नाकाबन्दी गर्नेलाई नागरिक अभिनन्दन गर्न सकिंदैन भनेका छन् । आफू भ्रमणमा निस्कनुअघि नेपालमा के भैरहेको छ भन्ने मोदीलाई पनि राम्रोसँग थाहा भैसकेको होला । नेपालीले नाकाबन्दीको कुरा झिकेर विरोध गर्दैछन् भन्ने खबर पाइसकेका होलान् ।
मोदीलाई नागरिक अभिनन्दन गर्दा पनि हुन्छ, नगर्दा पनि केही बिग्रँदैन । एक रात बास बस्न आउँछु भनेर शत्रुले भन्दा पनि नेपाली संस्कार र संस्कृतिले नआइज भन्दैन । बरु अमिलो मनलाई हँसिलो मुखले छोपेर हाँसीखुसी स्वागत गर्ने नेपालीको परम्परा हो । भारत छुद्र भयो भन्दैमा हामी झन् छुद्र भैरहनु आवश्यक छैन, बरु उसको छुद्रता हाम्रो मान मनितोले घट्छ कि बढ्छ भन्ने मात्र निगरानी गरे पुग्छ ।
राजनीति गर्ने केपी हुन वा मोदी उनीहरु कहिले नायकका रुपमा पुजिन्छन् । कहिले खलनायकका रुपमा दुत्कारिन्छन् । चार वर्षअघि नेपाल आउँदा मोदी आम नेपालीको मनमा नायकको छवि बनाएर गए । भारतले नाकाबन्दी लगाएपछि नेपालमा उनको छवि खलनायकको भयो र कुनै बेला भारतपरस्त भनिएका केपी ओली नेपालीका नायक भएर उदाए ।
अहिलेको मोदीको भ्रमणले यो छवि बदलिन सक्छ । तर, त्यसका लागि अभिननदन ग्रहण गरेपछि शीर निहुराएर मोदीले भन्नुपर्छ, ‘नेपाल के मेरे मित्रों ! भूल किसी से भी हो जाती है, भारत से भी हुई ! ईस भूल के लिये, वो नाकाबन्दी के लिये मै शर्मिन्दा हूँ ।’
तर मोदीका मुखारबिन्दबाट यस्ता शब्दको अपेक्षा गर्नु सम्भवतः हाम्रो गल्ती हो । तर कहिलेकाहीँ गलत आशा गर्दा पनि निराश भैहाल्नु पर्दैन । त्यसैले मोदीलाई स्वागत गरौँ, तर नाकाबन्दी चाहिँ माफी मागे पनि नभुलौँ ।

No comments:

Loading...
loading...